राैतहट–१ का उम्मेदवार अनिलकुमार झा काे हुन ?

spot_img

राैतहट,१२ फागुन । रौतहट क्षेत्र नम्बर १ मा सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा नेपाली कांग्रेस प्रवेश गरी प्रतिनिधिसभा निर्वाचन लड्दैछन् । उनको प्रतिस्पर्धा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसँग हुनेछ ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचन (२०७९)मा काङ्ग्रेस समेतको गठबन्धन बनाएर झा धनुषा-३ मा उठेका थिए । तर उनी एमालेकी जुली महतोसँग पराजित भए । उनै झा यस पटक भने काङ्ग्रेसको टिकट लिएर नेपाललाई चुनौती दिन उत्रिएका छन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी रौतहट-१ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचित भएका थिए । सो निर्वाचनमा नेपालले रौतहट छाडेका थिए । १५ असोज २०२४ मा रौतहटमा जन्मिएका उनको राजनीतिक यात्रासमेत उचारचढावयुक्त रहेको छ । तराईका नेता गजेन्द्रनारायण सिंहले गठन गरेको नेपाल सद्भावना पार्टीका अध्यक्षसमेत रहेका झा २०४५ पछि राजनीतिमा सक्रिय भएका हुन् ।

पछिल्लो समय गत जेठमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल छाडेर सद्भावना पुनर्गठन गरेका उनी काङ्ग्रेसबाट टिकट लिएर उठ्दा भने सद्भावना नै काङ्ग्रेसमा विलय गराएको आरोप उनीमाथि लागेको छ । उनी स्वयं भने सो पार्टी अस्तित्व मै रहेको बताउँछन् ।

२०७४ सालमा मधेश केन्द्रित दलहरूले राष्ट्रिय जनता पार्टी नेपाल दल गठन गरे । जसमा सद्भावनासमेत थियो । जब राजपा गठन भयो, त्यसपछि रामकुमार महतोले सदभावना पार्टी आफ्नो नाममा दर्ता गराएका थिए ।

पछिल्लो समय महतोलाई पाखा लगाउँदै झा सो पार्टीको अध्यक्ष बनेका हुन् । उनले गजेन्द्रनारायणको नेतृत्वमा रहेको सद्भावनामा भने २०४७ सालबाटै विद्यार्थी राजनीतिका रूपमा यात्रा थालेका थिए । २०६४ सालमा राजेन्द्र महतोले नेपाल सद्भावना पार्टी फुटाएपछि झा उनकै साथमा ‘सद्भावना पार्टी’मा सक्रिय भएका थिए ।

२०६८ सालमा पुनः उनी त्यहाँबाट पनि चोइटिए र आफ्नो नेतृत्वमा संघीय सद्भावना पार्टी बनाए । सो पार्टी २०७० सालमा संविधानसभा निर्वाचनमा भाग लिएको थियो । त्यसपछि २०७१ सालमा सरिता गिरी नेतृत्वको नेपाल सद्भावना र संघीय सदभावनाबीच पार्टी एकता भयो । एकीकृत पार्टीको अध्यक्ष झा बने । २०७४ सालमा राजपा बन्यो । त्यसपछि उनी सो दलमा सक्रिय भए । पछि यो दलसमेत उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीमा एकता गर्‍यो ।

सो दलमा पनि लामो समयसम्म एकता टिक्न सकेन । महत्व ठाकुर नेतृत्वमा लोसपा बन्यो । झा सो दलमा लागे । २०७९ को चुनाव धनुषाबाट लड्दा उनी सोही पार्टीमा थिए । अहिले भने सद्भावनाको अध्यक्षका रूपमा उनले काङ्ग्रेसको टिकट लिएर लड्न लागेका हुन् । झा २०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा खानेपानी मन्त्री बनेका थिए । त्यसअघि डा. बाबुराम भट्टराईको सरकारमा उद्योग मन्त्री बनेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय