वीरगन्ज्,१४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको हतियार संकलन अभियान मधेश प्रदेशमा अपेक्षित रूपमा अघि बढ्न सकेको छैन। स्थानीय प्रशासनले सर्वसाधारणसँग रहेका इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन आग्रह गरे पनि उल्लेख्य संख्या अझै प्रशासनको सम्पर्कमा आएको छैन।
मधेश प्रदेश प्रहरी कार्यालय का अनुसार प्रदेशभर दर्ता भएका २ हजार ५३१ इजाजत प्राप्त हातहतियारमध्ये हालसम्म ४८१ वटा मात्र बुझाइएका छन्। बाँकी २ हजार ५० वटा हतियार अझै बुझाउन बाँकी रहेको जनाइएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले १५ दिनभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा हातहतियार बुझाउन सूचना जारी गरेका थिए।
तर निर्वाचनको मिति नजिकिँदै जाँदा पनि अपेक्षित संख्यामा हतियार नबुझाइएकाले सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको प्रहरी अधिकारीहरूको भनाइ छ। प्रशासनले समयमै हातहतियार बुझाउन पुनः आग्रह गरेको छ।

