सर्लाही,१४ फागुन । राजनीतिक जीवनमा संसदीय यात्रा पहिलो लक्ष्य हुन्छ । लामो समय नेपाली कांग्रेसको राजनीति गरेका विनोदकुमार खनालले पहिलो पटक प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धी बन्ने मौका पाएका छन् । पहिलो पटकको निर्वाचनमै उनले नेपाली कम्युनिस्ट पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा एमालेका पूर्वसांसद तथा पूर्वरक्षा मन्त्री हरि उप्रेतीको सामना गर्दैछन् ।
सर्लाहीको बरहथवा नगरपालिका-१६ टिकुलियामा जन्मिएका खनालले स्नातकसम्म औपचारिक शिक्षा हासिल गरेका छन् । खनाल नेपाली कांग्रेसका अनुभवी, वैचारिक रूपमा निष्ठावान र स्पष्ट वक्ताको पहिचान बनाएका राजनीतिज्ञ हुन् ।
पञ्चायतकालदेखि राजनीतिमा सक्रिय रहँदै आएका उनी सिद्धान्त, निष्ठा, निर्भीक र मुद्दामुखी राजनीतिमा विश्वास गर्छन् । लामो राजनीतिक अनुभव, पारिवारिक कांग्रेस, बलियो संगठनात्मक क्षमता पार्टीप्रतिको वाफादर नेता हुन् ।
तर,निर्वाचन अनुभवको नभएका खनाल आन्तरिक राजनीतिमा लचकता नअपनाउने भएकाले नोक्सान पुर्याउन सक्छ । उनको सिधा अभिव्यक्ति दिने स्वभावलाई आम जनताले गलत बुझ्न सक्ने भएकाले पनि होसियार हुनुपर्ने देखिन्छ । २०७० सालमा नेपाली कांग्रेस जिल्ला उपसभापति भएका खनाल कांग्रेसको महासमिति सदस्य हुन् । राजनीतिमा लामो समय सक्रिय भए पनि उनले निर्वाचनमा टिकट भने पाउने गरेका थिएनन् ।
अहिले उनी नेकपाका नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका हरिप्रसाद उप्रेती तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवार लगायतसँग प्रतिस्पर्धामा छन् ।

