spot_img

दुई महिनापछि खुल्यो नेपाली चिया निर्यात

spot_img
spot_img

काठमाडौं,१६ असार । गुणस्तर परीक्षणको नाममा भारतले लगाएको अवरोधका कारण झण्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु भएको छ। नेपाल सरकारको कूटनीतिक पहल र भारतले गुणस्तर परीक्षणसम्बन्धी मापदण्ड खुकुलो बनाएपछि पूर्वी नाका काँकडभिट्टाबाट चिया भारततर्फ निर्यात हुन थालेको हो।

नेपाल चिया उत्पादक संघका अनुसार सोमबारदेखि इलाममा उत्पादित अर्थोडक्स चिया बोकेका दुई ट्रक काँकडभिट्टा नाका हुँदै भारतको पानीट्यांकी भन्सारतर्फ पठाइएको छ। लामो समयदेखि रोकिएको निकासी पुनः सुरु भएपछि चिया उद्योगी तथा किसानमा राहतको अनुभूति भएको छ।

निकासी अवरुद्ध हुँदा इलामका चिया उद्योगमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया गोदाममै थन्किएको थियो। अब निर्यात सहज भएसँगै ती चिया क्रमशः भारतीय बजारमा पठाइने व्यवसायीहरूको विश्वास छ।

नेपाल चिया उत्पादक संघका पूर्वअध्यक्ष तथा तारागाउँ टी स्टेट र सिद्धेश्वर टी स्टेटका सञ्चालक उत्तम श्रेष्ठले प्रधानमन्त्री कार्यालयको निरन्तर पहल र भारतीय पक्षबाट आएको सकारात्मक संकेतपछि पुनः चिया निर्यात सुरु गरिएको बताए। उनले मंगलबार मात्रै करिब ९ हजार किलो चिया भारत पठाउन लोड गरिएको जानकारी दिए।

संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले पनि प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष पहलपछि समस्या समाधानतर्फ गएको बताए। उनका अनुसार सरकारले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि उच्चस्तरीय पहल गरेपछि भारतीय पक्षले निकासी प्रक्रिया सहज बनाएको हो।

सरकारले चिया निर्यातमा देखिएका तत्कालीन तथा दीर्घकालीन समस्या अध्ययन गरी समाधानका उपाय सुझाउन अन्तर–निकाय समिति समेत गठन गरेको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालय र सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी छन्।

भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले नयाँ व्यवस्था लागू गर्दै अब नेपालबाट निर्यात हुने सबै चियाको अनिवार्य परीक्षण गर्ने पुरानो व्यवस्था हटाएको छ। नयाँ प्रणालीअनुसार जोखिमका आधारमा प्रत्येक पाँच खेपमध्ये एउटा खेपको मात्र नमुना परीक्षण गरिनेछ।

यसअघि भारतले प्रत्येक खेपको अनिवार्य नमुना परीक्षण गर्ने व्यवस्था लागू गरेपछि नेपाली चियाको निर्यात लगभग ठप्प भएको थियो। त्यसको प्रत्यक्ष असर पहाडी क्षेत्रका ५६ र तराईका ३० चिया उद्योगमा परेको थियो भने किसान र व्यवसायी आर्थिक रूपमा प्रभावित भएका थिए।

यद्यपि व्यवसायीहरूले भारतीय पक्षले पूर्ण रूपमा सबै अवरोध हटाएको अवस्था भने नरहेको बताएका छन्। पानीट्यांकी भन्सारमा परीक्षण प्रयोगशाला नहुँदा नमुना परीक्षणका लागि अझै पनि कोलकाता पठाउनुपर्ने बाध्यता कायमै छ।

निकासी पुनः सुरु भएसँगै भारतीय बजारबाट नयाँ खरिद आदेश आउन थालेको व्यवसायीहरूको भनाइ छ। अहिले पहाडी क्षेत्रको अर्थोडक्स चियाको निर्यात सुरु भएको भए पनि तराईमा उत्पादित सिटिसी चियाको व्यापार भने अझै पूर्ण रूपमा सहज भइसकेको छैन।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय