सर्लाही,१४ फागुन । सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ का लागि हरिप्रसाद उप्रेती नयाँ नाम होइन । २०७० र २०७९ को प्रातिनिधिसभा सदस्य निर्वाचनमा जित निकालेका उप्रेती आगामी २१ फागुनमा हुने निर्वाचनमा पनि प्रतिस्पर्धा गर्दैछन् । नेकपा एमाले पार्टीका तर्फबाट उम्मेदवार बनेका उप्रेतीसँग पुराना कम्युनिस्ट नेता नारायणकाजी श्रेष्ठ र अघिल्लो पटक उनीसँगै दोस्रो भएका र हाल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र साह कलवार प्रतिस्पर्धा गर्दैछन् ।
२०२४ साल वैशाखमा सर्लाहीको बरहथवा नगरपालिका-१५ पिपराभित्तामा जन्मेका उप्रेतीको औपचारिक शैक्षिक योग्यता स्नातक हो । उप्रेती सोही क्षेत्रबाट २०७० सालमा संविधानसभा सदस्य र २०७९ सालमा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
२०७० सालको दोस्रो संविधानसभामा निर्वाचित भएपछि वातावरण समिति सदस्य भएका उनी २०७९ सालमा प्रतिनिधिसभामा निर्वाचित भएपछि रक्षामन्त्री बनेका थिए । २०७४ को चुनावमा भने माओवादी-एमाले गठबन्धन हुँदा त्यहाँबाट रामेश्वर राय यादव उम्मेदवार बनेका थिए, जो निर्वाचित पनि भए ।
हरिप्रसाद उप्रेती एक संगठनात्मक क्षमता भएका, सामान्य जनताको मुद्दा उठाउने नेताको रूपमा चनिन्छन् । दीर्घ राजनीतिक अनुभव, रक्षा मन्त्री जस्ता उच्च पदमा कार्यानुभव उनको सबल पक्ष हो । उच्चस्तरीय राजनीतिमा सक्रिय भएर पनि स्थानीय जनस्तरमा कमजोर देखिनु दुर्बल पक्ष हो । उप्रेती २०४४ सालमा पार्टीको सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा प्रवेश गरेको हुन् ।

