काठमाडौं,३० जेठ । सरकारले किसानलाई बाली छनोट गर्न सहज बनाउने उद्देश्यले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य (एमएसपी) निर्धारण गर्ने व्यवस्था लागू गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२’ जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
मन्त्रालयका अनुसार यो व्यवस्था सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत लागू गरिएको हो। निर्देशिका वैशाख १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दर्ता गरिएको छ भने मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले बाली रोप्नुअघि नै समर्थन मूल्य घोषणा गरिने भएकाले किसानले आफ्नो लागत, सम्भावित आम्दानी र बजार अवस्थाको मूल्याङ्कन गरेर बाली छनोट गर्न सक्ने बताइन्। उनका अनुसार पूर्वनिर्धारित मूल्यले किसानलाई उत्पादन सम्बन्धी निर्णय लिन थप सहजता प्रदान गर्नेछ।
मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको जनाएको छ। यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको समर्थन मूल्य पनि जेठ ११ गतेको मन्त्रिपरिषद् बैठकले निर्धारण गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ कायम गरिएको छ।
यसैबीच, मन्त्रालयले आगामी आर्थिक वर्षका लागि वर्षे मकैको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया अघि बढाएको जनाएको छ। हालसम्म मकैका लागि यस्तो व्यवस्था नभएको उल्लेख गर्दै मन्त्रालयले आगामी फागुन मसान्तभित्र मूल्य निर्धारण प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेको छ।
उखुको हकमा आर्थिक वर्ष २०८२/८३ का लागि न्यूनतम खरिद मूल्य मन्त्रिपरिषद्को मंसिर २२ गतेको निर्णयबाट तय भइसकेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि उखुको न्यूनतम खरिद मूल्यसम्बन्धी प्रस्ताव आगामी कात्तिक मसान्तभित्र मन्त्रिपरिषद्मा पेश गरिने मन्त्रालयले जनाएको छ।




