काठमाडौँ,२४ फागुन । ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस को अवसरमा राष्ट्रिय मानव अधिकार आयोग ले महिला तथा बालिकाको न्यायिक र कानुनी अधिकारमा पहुँच सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ। आयोगले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला र बालिकालाई शुभकामना व्यक्त गर्दै उनीहरूको मानव अधिकार संरक्षणका लागि विशेष पहल आवश्यक रहेको जनाएको हो।
आयोगले महिलामाथि हुने मानव अधिकार उल्लंघनका घटनामा निरन्तर अनुसन्धान र अनुगमन गरिरहेको उल्लेख गर्दै कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको औँल्याएको छ। बालविवाह, एकल महिलाको अधिकार, लैङ्गिक समानता तथा जबरजस्ती करणी र छाउपडीजस्ता मुद्दामा आयोगले अध्ययन, अनुगमन र प्रतिवेदन सार्वजनिक गर्दै आएको छ।
आयोगका अनुसार संवैधानिक तथा कानुनी रूपमा महिलाका अधिकार सुरक्षित गरिए पनि व्यवहारिक रूपमा अझै धेरै समस्या कायम छन्। घरेलु हिंसा, मानव बेचबिखन, डिजिटल हिंसा, यौन हिंसा, बलात्कार तथा सामाजिक विभेदका घटनाले महिलाको जीवनमा गम्भीर असर पारिरहेको आयोगले जनाएको छ।
आर्थिक असमानता, राजनीतिमा न्यून सहभागिता, दण्डहीनता तथा न्यायमा पहुँचको कमीका कारण महिलाले आफ्नो अधिकार पूर्ण रूपमा उपभोग गर्न नसकेको आयोगको निष्कर्ष छ। आयोगले संविधान तथा अन्तर्राष्ट्रिय कानुनमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै महिलालाई सबै प्रकारका हिंसा र शोषणबाट संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल द्वारा जारी विज्ञप्तिमा महिलाको अधिकार सुरक्षित नभएसम्म सभ्य र न्यायपूर्ण समाज निर्माण सम्भव नहुने उल्लेख गरिएको छ।

