काठमाडौं,२३ चैत । नेकपा एमाले ले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन तथा अद्यावधिक अभियानमा सक्रिय हुन आफ्ना मातहतका समितिहरूलाई निर्देशन दिएको छ।
पार्टीले जारी गरेको आन्तरिक परिपत्रमार्फत सबै पालिका तथा वडा कमिटीहरूलाई निर्वाचनसम्बन्धी कार्यमा जुट्न आह्वान गरिएको हो। परिपत्रमा निर्वाचन आयोग ले चैत २२ गतेदेखि पुनः सुरु गरेको मतदाता नामावली संकलन कार्यलाई प्रभावकारी बनाउन विशेष जोड दिइएको छ।
एमालेले स्थानीय तहसम्म आफ्नो संगठन परिचालन गरी योग्य नागरिकलाई मतदाता सूचीमा समेट्ने र अद्यावधिक प्रक्रिया सहज बनाउन समन्वयात्मक भूमिका खेल्न निर्देशन दिएको जनाएको छ। साथै, निर्वाचन कार्यालयसँग आवश्यक सहकार्य गरी प्रक्रिया अनुसार काम अघि बढाउन पनि मातहतका निकायलाई आग्रह गरिएको छ।
पार्टीको यो कदम आगामी निर्वाचनको तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले लिइएको बुझिएको छ।

