बीरगन्ज,२३ चैत । सीमावर्ती क्षेत्रमा बालबालिका र महिलामाथि हुने हिंसा तथा मानव बेचबिखनका घटनाहरू बढ्दै गएको सरोकारवालाहरूले बताएका छन्। विशेषगरी १२ देखि १४ वर्ष उमेर समूहका बालबालिका भारतीय पुरुषहरूसँगको प्रेम सम्बन्धका कारण जोखिमपूर्ण रूपमा सीमा पार गर्ने प्रवृत्ति बढिरहेको उनीहरूको भनाइ छ।
सोमबार बीरगन्जमा आफन्त नेपाल पर्सा शाखाले स्ट्यान्डर्ड चार्टर्ड बैंकको सहयोगमा आयोजना गरेको पालिकास्तरीय समन्वय तथा सहकार्य बैठकमा यस्तो तथ्य सार्वजनिक गरिएको हो। कार्यक्रममा शाखा प्रमुख मनु रानाले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै वर्तमान चुनौतीहरूबारे जानकारी गराइन्।
बैठकमा सीमावर्ती क्षेत्रमा दुर्गम जिल्लाबाट ल्याइएका किशोरी तथा महिलालाई स्पा तथा होटल–लजमा जबरजस्ती यौन कार्यमा लगाउने जस्ता घटनासमेत देखिएको उल्लेख गरिएको थियो। साथै, भारतीय र नेपाली दुवै पक्षका किशोरीहरू सीमापार गरी यौन शोषणमा पर्ने जोखिम बढ्दो अवस्थामा रहेको सरोकारवालाहरूले बताएका छन्।
रानाका अनुसार सन् २०२५ मा मात्र वीरगन्ज नाकाबाट २४५ जनाको उद्धार गरिएको थियो भने सन् २०२६ को हालसम्म ७३ जनालाई उद्धार गरी सुरक्षित गरिएको छ।
कार्यक्रममा सहभागीहरूले समुदाय स्तरमै यस्ता घटना बढ्नु गम्भीर चुनौती भएको भन्दै रोकथामका लागि समन्वित प्रयास आवश्यक रहेको बताए।
वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले समस्या समाधानका लागि सबै निकायबीच सहकार्य अपरिहार्य रहेको बताए। त्यस्तै, कार्यक्रमका अध्यक्ष तथा केशर विश्वकर्मा ले बदलिँदो स्वरूपका मानव बेचबिखन रोक्न थप गम्भीर र संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिए।

