काठमाडौँ,१६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सरकारले ल्याएको अध्यादेशबारे भइरहेको आलोचनालाई अस्वीकार गर्दै यसलाई सुधारमुखी कदमका रूपमा व्याख्या गरेका छन्।
बुधबार बसेको संसदीय दलको बैठकमा उनले विगतमा अध्यादेशहरू दल विभाजन वा विपक्षीलाई कमजोर पार्न प्रयोग हुने गरेको आरोप लगाउँदै अहिलेको अभ्यास फरक रहेको दाबी गरे।
उनका अनुसार अहिले ल्याइएको अध्यादेश कसैलाई असर पुर्याउने वा लाभ दिने उद्देश्यले नभई विगतका “गलत अभ्यास सच्याउने” उद्देश्यले आएको हो। “विगतमा अनावश्यक दलियकरण र गलत नियुक्ति रोक्न नसकेसम्म जनताको अपेक्षा पूरा गर्न सकिँदैन,” उनले बैठकमा भनेका छन्।
लामिछानेले वर्तमान कदमलाई कानुनी प्रक्रिया र लोकतान्त्रिक अभ्यासभित्रको सुधार प्रयासका रूपमा व्याख्या गर्दै रास्वपा लोकतान्त्रिक पद्धतिप्रति गम्भीर रहेको बताए।
उनले विगतका सरकारहरूमा प्रधानमन्त्रीकै दलका सांसदहरू समिति प्रमुख बनेका उदाहरण रहेको उल्लेख गर्दै अहिले भने पारदर्शिता कायम गर्ने प्रयास भइरहेको दाबी गरे।
बैठकमा उनले पार्टीका सांसदहरूलाई सरकारका कदमबारे स्पष्ट धारणा राख्न र गलत बुझाइ नफैलाउन पनि निर्देशन दिएका छन्।

