बीरगन्ज,२५ चैत । हरि खेतान बहुमुखी क्याम्पस मा क्याम्पस प्रमुखका रूपमा किशोरी राय पुनः फर्किएसँगै क्याम्पसमा सकारात्मक वातावरण देखिन थालेको छ।
क्याम्पस व्यवस्थापन समितिको चैत २४ गते बसेको बैठकले छानबिन प्रक्रिया सम्पन्न भएको निष्कर्ष निकाल्दै रायमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। यसअघि उनलाई २०८२ असोज २९ गते छानबिनका लागि निलम्बन गरिएको थियो।
समितिको निर्णयअनुसार रायले पुनः क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै नियमित कामकाज सुरु गरिसकेको क्याम्पस प्रशासनले जनाएको छ।
उनको पुनरागमनसँगै क्याम्पसको शैक्षिक र प्रशासनिक गतिविधि पुरानै लयमा फर्किने अपेक्षा गरिएको छ। लामो समयपछि नेतृत्व स्थिर बनेपछि विद्यार्थी, शिक्षक तथा कर्मचारीमा उत्साह थपिएको देखिन्छ।
विद्यार्थीहरूले पनि रायको पुनरागमनप्रति खुशी व्यक्त गर्दै क्याम्पसको शैक्षिक गुणस्तर र अनुशासन अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
क्याम्पसमा आएको यो परिवर्तनलाई धेरैले “नयाँ सुरुवात” का रूपमा व्याख्या गरेका छन्, जहाँ स्थायित्व र विकासतर्फ पुनः गति लिने संकेत देखिएको छ।

