काठमाडौँ,२६ चैत । काठमाडौँस्थित यातायात व्यवस्था विभाग ले सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) वितरण प्रणालीमा ठूलो सुधार गर्ने तयारी गरेको छ। विभागले अब राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छापेर उपलब्ध गराउने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ।
विभागका निर्देशक केशव खतिवडाका अनुसार नयाँ सफ्टवेयर प्रणाली तयार पारिएको छ, जसले राजस्व बुझाएपछि तुरुन्तै डाटा मुद्रण प्रक्रियामा पठाउनेछ। यसअनुसार डाटा सोही दिन वा भोलिपल्ट बिहानै कार्डका रूपमा तयार हुने अपेक्षा गरिएको छ। यद्यपि, ट्रायल पास गरेपछि नभई राजस्व तिरेपछि मात्र यो प्रक्रिया सुरु हुनेछ।
सरकारले सार्वजनिक गरेको नीतिअनुसार अब लाइसेन्स कुरिअरमार्फत सेवाग्राहीको घरमै पुर्याउने तयारीसमेत गरिएको छ। यसले वर्षौँदेखि लाइसेन्सका लागि कुर्नुपर्ने समस्या अन्त्य हुने दाबी गरिएको छ।
तर कार्यान्वयनमा चुनौती भने अझै कायमै छन्। हाल झण्डै २९ लाख लाइसेन्स छाप्न बाँकी रहेको छ। सुरक्षण मुद्रण केन्द्र सँग भएको सम्झौताअनुसार ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने लक्ष्य राखिएको भए पनि हालसम्म करिब ३ लाख मात्र छापिएको छ।
विभागले ढिलाइको कारण पुरानो सर्भर, प्राविधिक समस्या र पूर्वाधार अभावलाई देखाएको छ। नयाँ सर्भर खरिदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिएको छ भने छपाइ क्षमतालाई दैनिक ४० हजारबाट ६० हजारसम्म पुर्याउने योजना बनाइएको छ।
विभागले आगामी असार मसान्तभित्र सबै ‘ब्याकलग’ लाइसेन्स शून्यमा झार्ने र साउनदेखि नयाँ सेवाग्राहीले २४ घण्टाभित्रै लाइसेन्स पाउने व्यवस्था लागू गर्ने लक्ष्य राखेको छ। तर हालको प्रगति र चुनौतीलाई हेर्दा यो लक्ष्य कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्नेमा प्रश्न भने उठिरहेको छ।

