बीरगन्ज,२७ चैत । बारा प्रहरीले बैंकिङ कसुर (चेक अनादर) मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरका ५२ वर्षीय महम्मद फिरोज देवान रहेका छन्। उनलाई प्रहरी चौकी गन्जभवानीपुरबाट खटिएको टोलीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बारा का अनुसार, बारा जिल्ला अदालत ले यसअघि देवानलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा १० दिन कैद र १४ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो। फैसला पश्चात उनी फरार रहेका थिए।
प्रहरीले उनलाई महागढीमाई नगरपालिका–१० स्थित तरकारी बजार क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे जानकारी दिँदै प्रवक्ता विजयराज पण्डित ले पक्राउपछि आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिएको बताएका छन्।



