वीरगन्ज,२७ चैत । नेपाल फोटो पत्रकार महासंघ पर्सा कार्यसमिति ले केन्द्रीय सदस्यमा निर्वाचित युवा पत्रकार राहुल गुप्ता लाई सम्मान गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा महासंघको हालै चितवनको सौरहामा सम्पन्न तेस्रो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका गुप्तालाई औपचारिक रूपमा सम्मान गरिएको हो।
गुप्ता यसअघि नेपाल पत्रकार महासंघ पर्सा का कार्यसमिति सदस्यसमेत रहेका छन्। उनको केन्द्रीय स्तरको पदमा चयनसँगै वीरगन्ज र पर्सा जिल्लाको पहिचान राष्ट्रिय स्तरमा अझ बलियो हुने अपेक्षा गरिएको छ। कार्यक्रममा बोल्दै पर्सा कार्यसमितिका अध्यक्ष सफल खतिवडा ले गुप्ताको नेतृत्वले फोटो पत्रकारिताको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
सम्मान ग्रहणपछि केन्द्रीय सदस्य गुप्ताले आफूलाई गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै फोटो पत्रकारहरूको पेशागत हकहित, क्षमता विकास र संस्थागत सुदृढीकरणका लागि सक्रिय रहने प्रतिबद्धता जनाए। कार्यक्रममा कोषाध्यक्ष शम्भु सुमन, पूर्व सचिव तथा कार्यसमिति सदस्य तिवारी यादव, आरोहण साह लगायतको उपस्थिति रहेको थियो।

