सीपमूलक तालिम खरिद प्रक्रियामा विवाद: पारदर्शिता र निष्पक्षतामाथि गम्भीर प्रश्न

spot_img

काठमाडौँ,२७ चैत । वागमती प्रदेशअन्तर्गत प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद्‌ले सञ्चालन गरेको सीपमूलक तालिम कार्यक्रमको सेवा खरिद प्रक्रिया विवादमा परेको छ। तालिम प्रदायक संस्थाहरूले संयुक्त रूपमा आपत्ति जनाउँदै प्रक्रिया पारदर्शी र निष्पक्ष नभएको आरोप लगाएका छन्।

आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ७ सय लाभग्राही लक्षित गरी गरिएको प्रस्ताव आह्वानमा मूल्यांकन प्रक्रिया अपारदर्शी रहेको सरोकारवालाहरूको दाबी छ। उनीहरूका अनुसार प्राविधिक तथा आर्थिक प्रस्तावमा अस्वाभाविक अंक वितरण गरिएको र न्यून लागत प्रस्ताव गर्ने संस्थाहरूलाई बेवास्ता गरिएको छ।

साथै, प्रस्ताव आह्वानअघि आवश्यक पूर्व–बैठक नगर्नु, छोटो समयमा मूल्यांकन टुंग्याउनु र सीमित संस्थालाई फाइदा पुग्ने गरी मापदण्ड बनाउनुजस्ता विषयले प्रक्रिया शंकास्पद बनेको आरोप लगाइएको छ। आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया पनि पारदर्शी रूपमा नभएको तथा मूल्यांकनमा संलग्न व्यक्तिहरूबीच स्वार्थ बाझिन सक्ने सम्भावना औंल्याइएको छ।

संस्थाहरूले परिषद्को नेतृत्व तहबाट नीतिगत तथा खरिद प्रक्रियामा हस्तक्षेप हुने गरेको आशंका व्यक्त गर्दै यसले वर्तमान प्रक्रियामा पनि असर पारेको बताएका छन्। साथै, सूचना प्रवाह कमजोर रहेको र प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय दैनिक तथा परिषद्को वेबसाइटमा समेत प्रकाशित नगरिएको दाबी गरिएको छ।

त्यस्तै, ‘सीपमूलक तालिम कार्यक्रम सञ्चालन कार्यविधि, २०८०’ मा राखिएको कम्तीमा ७ वर्षको अनुभव र ४ हजार जनालाई तालिम दिएको मापदण्डले साना तथा मध्यम संस्थाहरूलाई प्रतिस्पर्धाबाट बाहिर राखेको भन्दै त्यसको पुनरावलोकन गर्न माग गरिएको छ।

सरोकारवालाहरूले बागमती प्रदेश सरकारसँग छानबिन समिति गठन गरी सम्पूर्ण प्रक्रिया अनुसन्धान गर्न, विवादित प्रक्रिया तत्काल रोक्न र आवश्यक परे पुनः मूल्यांकन गर्न माग गरेका छन्। साथै, भविष्यमा यस्ता समस्या नदोहोरिन खरिद प्रणाली र तालिम व्यवस्थापनमा सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय