काठमाडौँ,२७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले निराश जनशक्तिबाट कुनै पनि मुलुकको विकास सम्भव नहुने बताएका छन्। उनले नागरिकको निराशा हटाउँदै आशा र विश्वास सिर्जना गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हालैको निर्वाचनमार्फत नयाँ पुस्ता नेपाली राजनीतिमा आकर्षित भएको उल्लेख गरे। उनले जनताले प्रभावकारी सेवा प्रवाह, विधिको शासन, रोजगारीका अवसर र आर्थिक–सामाजिक स्थायित्वको अपेक्षा गरेको बताए।
राष्ट्रपतिले नयाँ संसद्ले आवश्यक कानुन निर्माण गर्दै देशलाई सही दिशामा अघि बढाउने विश्वास व्यक्त गरे। साथै, न्यायपालिकाबाट निष्पक्ष न्याय सुनिश्चित भए मात्रै सहिदहरूको योगदानको सम्मान हुने धारणा राखे।
उनले संविधान कार्यान्वयनमा प्रगति भए पनि जनअपेक्षा अनुसार अझै धेरै काम गर्न बाँकी रहेको बताए। युवा वर्गलाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउन सरकार केन्द्रित हुनुपर्नेमा पनि उनले जोड दिए।
नागरिकमा बढ्दो निराशा हटाउन, सेवा प्रवाहलाई प्रभावकारी बनाउन र परराष्ट्र सम्बन्धलाई सन्तुलित रूपमा अघि बढाउन सरकार सक्रिय हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो।

