विमानस्थल सेवा सुधार्न २४ घण्टे अल्टिमेटम, स्तनपान कक्षदेखि निःशुल्क स्यानिटरी प्याडसम्मको व्यवस्था गर्न निर्देशन

spot_img

काठमाडौँ,२७ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका विमानस्थलहरूको सेवा गुणस्तर सुधार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई २४ घण्टे अल्टिमेटम दिएको छ।

यात्रुहरूको गुनासो र सार्वजनिक सुझावका आधारमा सेवा, सरसफाइ तथा मानवमैत्री पूर्वाधारमा तत्काल सुधार आवश्यक देखिएको भन्दै मन्त्रालयले कडा निर्देशन जारी गरेको हो।

मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाद्वारा जारी निर्देशनमा विशेषगरी महिला यात्रुहरूको आवश्यकता ध्यानमा राख्दै विमानस्थलका प्रमुख शौचालयहरूमा निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न भनिएको छ।

त्यस्तै, साना बालबालिका भएका आमाहरूका लागि सुरक्षित र गोप्यतायुक्त स्तनपान कक्ष तथा ‘बेबी चेन्जिङ’ कक्ष सञ्चालन गर्न वा स्तर सुधार गर्न निर्देशन दिइएको छ। ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त यात्रुहरूका लागि प्राथमिक हेरचाह कक्षको व्यवस्था मिलाउन पनि भनिएको छ।

विमानस्थलको सरसफाइलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन दैनिक सरसफाइ लगबुक प्रणाली लागू गर्न र विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ।

साथै, विमानस्थल परिसरको नियमित निरीक्षण र अभिलेखीकरण अनिवार्य गर्नुपर्ने तथा कार्यान्वयनको प्रमाणसहितको प्रतिवेदन २४ घण्टाभित्र मन्त्रालयमा बुझाउनुपर्ने उल्लेख गरिएको छ।

निर्देशन पालना नगरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय