बीरगन्ज,२८ चैत । पर्साको बीरगन्ज महानगरपालिका–६ मा महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित ४५ दिने ब्युटिसियन तालिम सुरु गरिएको छ।
फेसियल हाउस ब्युटिपार्लर तथा ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालन भएको उक्त तालिमको उद्घाटन वडा अध्यक्ष जयप्रकाश साह अग्रवालले शुक्रबार गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले वर्तमान समयमा अतिरिक्त आम्दानीको आवश्यकता बढ्दै गएकाले सीपमूलक तालिम अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गरी महिलाहरूले स्वरोजगार र व्यवसायतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।
उनका अनुसार वडामा रहेका महिलाहरूलाई बेरोजगारीबाट जोगाउने र सशक्त बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिँदै आएको छ। साथै, आगामी दिनमा युवालाई लक्षित गरेर थप सीपमूलक तालिमहरू सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
तालिममा ३५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ। प्रशिक्षण अवधिभर सुनिता परियार र मधु चौधरीले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्।
कार्यक्रममा वडा सचिव गङ्गा कुमारी पौडेलसहित अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम सुनिता परियारको अध्यक्षतामा सम्पन्न भएको हो।




