धनगढी,२९ चैत । कैलालीमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ। हुलाकी राजमार्गअन्तर्गत कैलारी गाउँपालिका–१ क्षेत्रमा बोलेरो जिप र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक धनगढी–१९ फुलबारीका २२ वर्षीय राम मिलन चौधरी गम्भीर घाइते भएका थिए।
घाइते चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिए पनि उपचारकै क्रममा शनिबार बेलुका उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि बोलेरो चालक भजनी नगरपालिका–५ का २३ वर्षीय राजु डगौरा पक्राउ परेका छन्। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।




