वीरगन्ज,२९ चैत । जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार शिवनगरस्थित कानु समाज धर्मशालामा “नागरिक सार्वजनिक सुनुवाइ” कार्यक्रम आयोजना गरेको छ। प्रहरी सेवाको प्रभावकारिता बढाउन र शान्ति–सुरक्षाबारे स्थानीयबासीको सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो।
कार्यक्रममा उपस्थित सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न नागरिकको भूमिका महत्वपूर्ण रहेको बताए। उनले समाजमा रहेका कुरीति तथा विकृतिहरू नियन्त्रण गर्न प्रहरी–नागरिक सहकार्य आवश्यक रहेकोमा जोड दिए।
रिजालले सामुदायिक–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउँदै अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग गर्न नागरिकलाई आग्रह गरे। उनले “पीडितलाई न्याय र पीडकलाई सजाय” दिलाउने कार्यमा सबैले हातेमालो गर्नुपर्ने बताए।
कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद कल्वारले प्रहरी सेवामा पीडितले अपेक्षाअनुसार सहयोग नपाएको गुनासो गरे। उनले केही अवस्थामा पीडक पक्षकै प्रभाव देखिने गरेको उल्लेख गर्दै प्रहरीलाई निष्पक्ष र दबाबमुक्त भएर काम गर्न सुझाव दिए।
नगर प्रमुख कल्वारले सामाजिक सञ्जालमा जथाभावी लेख्ने, चरित्र हत्या गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई आग्रह गरे। जिल्ला प्रहरी कार्यालय गौर रौतहटको आयोजनामा सम्पन्न कार्यक्रममा प्रहरी उपरीक्षक सिताराम रिजाल र नगर प्रमुख कल्वारले संयुक्त रूपमा अध्यक्षता गरेका थिए। कार्यक्रम शिवनगर वडा नम्बर ५ स्थित कानु समाज कल्याण धर्मशालाको प्राङ्गणमा सम्पन्न भएको हो।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी शंकर प्रसाद आचार्य, महिला सेल प्रमुख, ईप्रका शिवनगरका प्रमुख लतिफ अन्सारी, स्थानीय जनप्रतिनिधि, प्रहरी कर्मचारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्थानीय भद्रभलादमी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।




