राजविराज,२९ चैत । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामाकट्टीका एक परिवार दुई महिनादेखि १४ वर्षीय छोरा अमनकुमार यादवको खोजीमा भौंतारिरहेका छन्।
माघ १९ गते हनुमाननगर कंकालिनी–१ स्थित कोशी मेला हेर्न गएका अमनकुमार त्यसपछि घर नफर्किएपछि परिवारले निरन्तर खोजी गरे पनि हालसम्म कुनै अत्तोपत्तो लागेको छैन।
बालकका बुवा जयकृष्णकुमार यादवले छिमेकी रामदेव यादव र कारी यादवमाथि छोरालाई बेपत्ता बनाएको आरोप लगाएका छन्। उनका अनुसार हराउनु अघि उनीहरूले १० हजार रुपैयाँ वा एक बिघा जग्गा माग्दै धम्की दिएका थिए।
जयकृष्णले छोराको अवस्थाबारे सोध्दा उनीहरूले कोशी पारि राखिएको भन्दै फेरि जग्गा नामसारी गर्न दबाब दिएको दाबी पनि गरेका छन्।
आरोपित रामदेव यादवले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै पैसा वा जग्गा मागेको कुरा झूटो भएको बताएका छन्। अर्का आरोपी कारी यादव भारतमा रहेको बताइए पनि उनीसँग सम्पर्क हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बालकको खोजीका लागि हुलिया परिपत्र जारी गरिएको छ र अनुसन्धान जारी छ। हालसम्म औपचारिक जाहेरी भने दर्ता नभएको प्रहरीले जनाएको छ।




