काठमाडौं,२९ चैत । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको अभाव र निरन्तर मूल्यवृद्धिका कारण देशभरका विकास निर्माणका काम अघि बढाउन नसकिने अवस्था आएको जनाएको छ।
महासंघका अध्यक्ष निकोलस पाण्डेले वर्तमान परिस्थितिमा निर्माण कार्य जारी राख्नु असम्भव जस्तै भएको बताएका छन्। उनका अनुसार विशेषगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्ति समस्या निर्माण क्षेत्रमा ठूलो चुनौती बनेको छ।
सडक निर्माणमा प्रयोग हुने बिटुमिन, डिजेल र केरोसिनको लागत मात्रै ठूलो हिस्सा ओगट्ने भए पनि हाल डिजेलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुग्नु र बजारमा सहज आपूर्ति नहुनुले काम प्रभावित भएको उनले बताए।
त्यसैगरी नदीजन्य सामग्री—ढुङ्गा, गिटी र बालुवाको अभाव अर्को प्रमुख समस्या बनेको महासंघको भनाइ छ। मापदण्ड जटिल हुनु र स्थानीय तहले निर्माण सामग्री उत्खननमा कडाइ गर्दा क्रसर उद्योग प्रभावित भएको अध्यक्ष पाण्डेले आरोप लगाए।
महासंघले वातावरणीय सन्तुलन कायम गर्दै विकास निर्माणका लागि आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउनुपर्ने माग गरेको छ। राष्ट्रिय गौरवका आयोजना प्रभावित हुने गरी सामग्री अभाव सिर्जना हुनु नहुने उनको तर्क छ।
यस्तै, अन्तर्राष्ट्रिय बजारमा जारी मूल्यवृद्धिका कारण निर्माण लागत थप बढेको भन्दै महासंघले हालको मूल्य समायोजन प्रणाली अपर्याप्त भएको जनाएको छ।
सरकारसँग उचित मूल्य समायोजनको व्यवस्था गर्न आग्रह गर्दै महासंघले ठेक्का अवधि थप तथा काम रोक्नुपर्ने अवस्था आएका व्यवसायीलाई सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाएको छ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयसँग छलफल भइरहेको र चाँडै केही सकारात्मक निर्णय आउने अपेक्षा गरिएको महासंघले जनाएको छ।




