बीरगन्ज,२९ चैत । पर्साको पर्सागढी नगरपालिका–९ मनवा बजारस्थित बडेर्वामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा वार्षिक परीक्षा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्दै विद्यालयले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सम्मान गरेको हो।
कक्षा ९ (प्राविधिक धार) मा अध्ययनरत छात्रा स्वेता यादवले ३.९७ जीपीए प्राप्त गर्दै विद्यालयमा प्रथम स्थान हासिल गरेकी छन्। उनलाई विद्यालयको तर्फबाट प्रोत्साहनस्वरूप एक थान साइकल प्रदान गरिएको प्रधानाध्यापक चेतमन प्रसाद दासले जानकारी दिए।
त्यस्तै, बाल विकासदेखि कक्षा ९ सम्मका प्रत्येक कक्षाबाट उत्कृष्ट नतिजा हासिल गर्ने ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा स्टेसनरी वितरण गरिएको छ।
विद्यालयको शैक्षिक गतिविधिमा योगदान पुर्याउने ३० जना शिक्षक–शिक्षिकालाई पनि सम्मान गरिएको छ। सम्मानित हुनेमा विभिन्न शिक्षक तथा शिक्षिकाहरू रहेका छन्। उनीहरूलाई गम्छा, फूलमाला र डायरीसहित सम्मान गरिएको हो। साथै, विद्यालयको विकासमा योगदान पुर्याउने अभिभावक र शिक्षाप्रेमीलाई समेत प्रशंसापत्र प्रदान गरिएको छ।
कार्यक्रममा वक्ताहरूले प्राविधिक शिक्षाले समाजको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै विद्यालयको प्रगतिप्रति खुसी व्यक्त गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष दुर्गा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।




