मकवानपुर,०७ वैशाख । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निर्वाचन परिणामपछि पार्टीले हारको चिन्तामा अल्झिनुभन्दा भविष्यको दिशाबारे गहिरो चिन्तन गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस केन्द्रीय समितिको आयोजना तथा बागमती प्रदेश कार्यसमितिको व्यवस्थापनमा हेटौँडामा सोमबार आयोजित निर्वाचन समीक्षा बैठकलाई सम्बोधन गर्दै थापाले निर्वाचनलाई केवल हार–जितको दृष्टिले मात्र नहेर्नुपर्ने बताए। उनका अनुसार, यसले पार्टीलाई नयाँ अवसर र चुनौती दुवै दिएको छ।
थापाले कांग्रेस देशको जिम्मेवारी वहन गर्ने पार्टी भएकाले हार वा जितबाट विचलित नहुने दाबी गरे। उनले निर्वाचन परिणामको गहिरो समीक्षा गर्दै आगामी राजनीतिक कार्यदिशा तय गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार, कहिलेकाहीँ देशको हितका लागि पार्टीले हार पनि स्वीकार गर्नुपर्ने अवस्था आउन सक्छ। गत निर्वाचनमा कांग्रेस पराजित भए पनि देशको लोकतान्त्रिक व्यवस्था सही बाटोमा अघि बढेको उनको भनाइ थियो।
थापाले देशमा विधिको शासन स्थापित गर्न कांग्रेसले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै कोही पनि कानुनभन्दा माथि नहुने व्यवस्था कायम हुनुपर्ने बताए। उनले पार्टीभित्र अहिले दुई विकल्प देखिएको भन्दै “चिन्ता गर्ने वा चिन्तन गर्ने” बीचमा सही बाटो चिन्तन नै भएको स्पष्ट पारे। उनका अनुसार, चिन्ताले समस्या मात्रै देखाउँछ भने चिन्तनले समाधान खोज्न प्रेरित गर्छ।
राज्यले अनुसन्धान अघि बढाए सबैले सहयोग गर्नुपर्ने बताउँदै उनले २०४८ सालपछि सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने र दोषी ठहरिए राष्ट्रियकरणसम्म गर्नुपर्ने धारणा राखे।
थापाले आफू स्वयं वा पार्टी सभापति नै छानबिनको दायरामा परे पनि कांग्रेसले विरोध नगर्ने दाबी गर्दै विधिको शासनप्रति पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारे। यसै क्रममा उनले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही भएको भन्दै २४ गतेको घटनाबारे निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने मागसमेत राखे।
उनले पार्टी सदस्य भएर अन्य पार्टीलाई मतदान गर्न नपाइने बताउँदै क्रियाशील सदस्यले विधानअनुसार कांग्रेसकै चिन्हमा मतदान गर्नुपर्नेमा जोड दिए।
अन्त्यमा थापाले विशेष महाधिवेशनको बहस अब समाप्त भएको भन्दै पार्टी १५औँ महाधिवेशनको तयारीमा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। साथै, गुटबन्दी अन्त्य गर्दै नयाँ पुस्ता र छुटेका समर्थकलाई समेटेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।

