spot_img

खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला

spot_img
spot_img

काठमाडौँ,०७ वैशाख । सरकारले खाडी तथा पश्चिम एसियाका विभिन्न देशका लागि रोकिएको श्रम स्वीकृति पुनः खुला गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि लगाइएको अस्थायी प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

निर्णयसँगै अब संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि सबै प्रकारका श्रम स्वीकृति—व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण प्रक्रिया—पुनः नियमित रूपमा जारी हुने भएको छ।

वैदेशिक रोजगार विभाग का अनुसार सम्बन्धित मुलुकहरूमा श्रम स्वीकृति पुरानै व्यवस्था अनुसार सञ्चालन हुनेछ। यसअघि इरान युद्धका कारण पश्चिम एसियाली क्षेत्रमा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राख्दै फागुन १७ गते ती देशहरूमा श्रम स्वीकृति अस्थायी रूपमा रोकिएको थियो।

तर अहिले परिस्थितिमा सुधार आएको र श्रमिकहरूको माग तथा हितलाई ध्यानमा राख्दै प्रतिबन्ध हटाइएको मन्त्रालयले जनाएको छ। यद्यपि, इराकको हकमा भने मन्त्रिपरिषद्को २०८२ पुस ११ गतेको निर्णयअनुसार नै पुरानै व्यवस्था कायम रहनेछ।

यो निर्णयसँगै वैदेशिक रोजगारीमा जान प्रतीक्षामा रहेका हजारौँ नेपाली युवाहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय