वीरगन्ज,०८ वैशाख । वीरगन्जकाे मेनरोड विस्तारका क्रममा सडक छेउ र फुटपाथबाट उखेलिएका रुख तथा बिरुवाहरूलाई सुरक्षित रूपमा स्थानान्तरण गरी पुनः रोपिएको छ। उखेलिएका ती रुखहरूलाई बेवारिसे अवस्थामा छाड्नुको साटो शहरको हरियाली संरक्षण गर्ने उद्देश्यले बिपी उद्यान परिसरमा पुनः रोपिएको हो।
यो कार्य ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र को पहलमा गरिएको हो। केन्द्रका अध्यक्ष जयप्रकाश खेतानका अनुसार सडक विस्तारका क्रममा हटाइएका रुख तथा बिरुवालाई नष्ट हुन नदिई सुरक्षित स्थानमा सारेर हरित क्षेत्र विस्तारमा योगदान पुर्याउने उद्देश्य राखिएको हो।
वीरगन्ज महानगरपालिका ले बिपी उद्यान क्षेत्रमा अतिक्रमण हटाएर हरित पार्क निर्माण तथा विकासको काम अघि बढाइरहेको छ। सोही अभियानसँग जोड्दै उखेलिएका रुखहरूलाई पुनः रोपेर हरियाली संरक्षणमा सहयोग गरिएको बताइएको छ।

