बीरगन्ज,१६ वैशाख । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न ४ बजेदेखि देशका विभिन्न भागमा तीव्र हावाहुरी चल्ने चेतावनी दिएको छ। बिहान ८ बजे जारी गरिएको विशेष बुलेटिनअनुसार हावाहुरी भोलि बिहान ६:४५ बजेसम्म जारी रहनेछ।
पूर्वानुमान अनुसार मधेस प्रदेशका बारा, पर्सा र धनुषा जिल्लाहरू मुख्य रूपमा प्रभावित हुनेछन्। साथै सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटी तथा आसपासका क्षेत्रहरूमा पनि यसको असर देखिने सम्भावना छ।
यस्तै लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी, गण्डकी प्रदेशको नवलपुर, बागमती प्रदेशको चितवन तथा कोशी प्रदेशका झापा र मोरङ लगायतका जिल्लाहरू पनि जोखिममा पर्ने विभागले जनाएको छ।
विभागका अनुसार हावाहुरीसँगै मेघगर्जन, चट्याङ र असिनासहितको वर्षा हुने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्नेछ, जसले देशका धेरै क्षेत्रमा प्रभाव पार्न सक्छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। यसअघि जारी गरिएको सूचनामा हावाहुरी साँझ ५:४५ बजेदेखि सुरु हुने भनिएको भए पनि अद्यावधिक बुलेटिनमार्फत समय संशोधन गर्दै अपराह्न ४ बजेदेखि नै प्रभाव सुरु हुने स्पष्ट पारिएको छ।

