बुटवल,१६ वैशाख । रुपन्देही जिल्लामा दुई सवारी साधन एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्।
बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक लु१ख ७२८५ नम्बरको माइक्रो बस र बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको माइक्रो बस बुटवलबाट बर्दघाटतर्फ जाँदै थियो भने अर्को सवारी नारायणगढबाट बुटवलतर्फ आइरहेको थियो।
घाइतेहरूलाई तत्काल उद्धार गरी देवदह मेडिकल कलेज मा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरी चौकी देवदह खैरेनीका अनुसार मृतकहरूको पहिचान हालसम्म खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

