काठमाडौं,०७ जेठ । सरकारले संविधान संशोधनसम्बन्धी छलफल अघि बढाएसँगै नेकपा एमालेले पनि आन्तरिक रूपमा कार्यदल गठन गर्ने तयारी गरेको छ।
पार्टी सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गर्ने प्रस्ताव अघि सारिएको हो। पार्टीले अन्य दलहरू तथा सरकार स्तरमा पनि संशोधनसम्बन्धी परामर्श र छलफल सुरु भएको भन्दै आफ्नो तर्फबाट पनि औपचारिक संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ।
प्रस्तावित कार्यदलमा जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई र पासाङ शेर्पालाई सदस्यका रूपमा राख्ने तयारी गरिएको छ। एमालेले संविधान संशोधनका विषयमा पार्टीको धारणा र सुझावलाई व्यवस्थित रूपमा अघि बढाउन कार्यदल उपयोगी हुने विश्वास लिएको छ।



