काठमाडौं,१४ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि औपचारिक प्रस्ताव गरेका छन् । साम्पाङले बुधबार घिसिङलाई एकताको निम्तो पठाएको जानकारी बिहीबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
संसदीय दलका नेतासमेत रहेका साम्पाङले प्रमुख राजनीतिक दलबीच भइरहेका गठबन्धनतर्फ संकेत गर्दै नयाँ राजनीतिक ध्रुवीकरणको आवश्यकता औंल्याएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान घिसिङ मिल्न नसक्ने ?”
साम्पाङले वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य रहेको उल्लेख गर्दै आफूले औपचारिक रूपमा प्रस्ताव पठाइसकेको स्पष्ट पारेका छन् । पछिल्लो समय श्रम संस्कृति पार्टीले आफ्नो राजनीतिक दायरा विस्तार गर्ने प्रयास तीव्र बनाइरहेको छ । यसअघि सुदन किराँती नेतृत्वको समूहलाई पार्टीमा समाहित गरिसकेको उक्त पार्टीले गत प्रतिनिधिसभा निर्वाचनमा ७ सिट जितेर उल्लेखनीय उपस्थिति बनाएको थियो ।
यता, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी भने चुनावी सफलताबाट टाढै रहेको छ । यद्यपि, घिसिङको सार्वजनिक छवि र लोकप्रियतालाई मध्यनजर गर्दै साम्पाङको प्रस्तावलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
विश्लेषकहरूले वैकल्पिक शक्ति निर्माणको बहस चलिरहेका बेला साम्पाङ–घिसिङ सहकार्यले नयाँ राजनीतिक समीकरणको संकेत गर्न सक्ने बताएका छन् ।



