बीरगन्ज,१४ जेठ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजना तथा पर्सा शाखाको समन्वयमा बीरगन्जस्थित होटल भिस्वामा “पीएफईसीसी रेडक्रस इमर्जेन्सी क्लिनिक” सम्बन्धी एकदिने कृत्रिम घटनामा आधारित अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
हाल विभिन्न क्षेत्रमा कोलरा संक्रमण देखिन थालेपछि महामारी नियन्त्रण, प्राथमिक उपचार, सरसफाइ तथा आपतकालीन व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा महामारी फैलिएको काल्पनिक अवस्थालाई आधार बनाएर रेडक्रसकर्मी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले उद्धार, उपचार, समन्वय र जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने तरिकाबारे व्यावहारिक अभ्यास गरेका थिए । अभ्यासका क्रममा संक्रमितको उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानान्तरण, सरसफाइ व्यवस्थापन तथा समुदायमा सचेतना फैलाउने प्रक्रियाको प्रत्यक्ष प्रदर्शन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वृजकिसोर पटेलले महामारी वा विपद्को समयमा समुदायस्तरमै छिटो सेवा प्रवाह गर्न यस्ता अभ्यासमूलक कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले रेडक्रस संस्था मानवीय सेवामा सधैं अग्रपंक्तिमा रहेको उल्लेख गर्दै आपतकालीन अवस्थाको सामना गर्न स्वयंसेवक र स्वास्थ्यकर्मीलाई सदैव तयारी अवस्थामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यसैगरी, विशेष अतिथि टिकाराज पौडेलले महामारी नियन्त्रणका लागि समुदायस्तरमा चेतना र पूर्वतयारी अत्यावश्यक रहेको धारणा राख्नुभयो । उहाँले व्यक्तिगत सरसफाइ, स्वच्छ खानेपानीको प्रयोग र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई आग्रह गर्दै यस्ता अभ्यास कार्यक्रमले विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय प्रतिनिधि, जिल्ला शाखाका पदाधिकारी, स्वास्थ्यकर्मी, रेडक्रसकर्मी, स्वयंसेवक तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले महामारीका बेला सेवा प्रवाह गर्दा भोग्नुपरेका चुनौती तथा अनुभवसमेत साझा गरेका थिए ।
आयोजकका अनुसार उक्त कार्यक्रमले महामारीका समयमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका उपायबारे समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विपद् तथा स्वास्थ्य संकट व्यवस्थापनमा स्थानीय तहको तयारीलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



