काठमाडाैं,१४ जेठ । विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये १९९ जना प्रतिस्पर्धाका लागि योग्य ठहरिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सिफारिस समितिले कागजात छानबिनपछि स्वीकृत उम्मेदवारको सूची सार्वजनिक गरेको हो।
समितिका अनुसार कुल २१८ आवेदनमध्ये १९९ जनाको आवेदन योग्य ठहर गरिएको छ। अब यी उम्मेदवारले प्रस्तुतीकरण र अन्तर्वार्तामा भाग लिनेछन्, जसको मूल्याङ्कनका आधारमा प्रत्येक विश्वविद्यालयका लागि तीन–तीन जनाको नाम सिफारिस गरिनेछ। अन्तिम नियुक्ति कुलपति अर्थात् प्रधानमन्त्रीबाट हुने व्यवस्था छ।
स्वीकृत उम्मेदवारको संख्या हेर्दा त्रिभुवन विश्वविद्यालय मा सबैभन्दा बढी ४३ जना प्रतिस्पर्धामा छन्। त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय मा ३४, पोखरा विश्वविद्यालय मा ३३, लुम्बिनी बौद्ध विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालय मा समान १३–१३ जना छन्।
यसैगरी मध्यपश्चिम विश्वविद्यालय मा १७, सुदूरपश्चिम विश्वविद्यालय मा १८ र राजर्षि जनक विश्वविद्यालय मा २१ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्।
यसअघि नै नेपाल खुला विश्वविद्यालय को उपकुलपति नियुक्ति प्रक्रिया भने अघि बढिसकेको मन्त्रालयले जनाएको छ।



