spot_img

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ६ जना पक्राउ

spot_img
spot_img

काठमाडौं,१४ जेठ । आकर्षक तलबमा विदेश पठाइदिने भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले विभिन्न उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामबहादुर आले मगर, आशिष कार्की, लोकबहादुर श्रेष्ठ, तुलसा पुन मगर, कृष्णप्रसाद पोखरेल र प्रबिन श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले क्यानडा, न्यूजिल्याण्ड, युके, अमेरिका, युएई र सर्बिया पठाइदिने प्रलोभन देखाएर पीडितहरूबाट ठूलो रकम असुलेका थिए। रामबहादुर आले मगरले मात्रै चार जनाबाट झण्डै ३९ लाख ५८ हजार रुपैयाँ ठगी गरेका छन् भने आशिष कार्कीले तीन जनाबाट १३ लाख रुपैयाँ लिएका छन्।

त्यसैगरी, अन्य अभियुक्तहरूले पनि एक–एक जनालाई विदेश पठाइदिने भन्दै ६ लाखदेखि १९ लाख रुपैयाँसम्म असुलेर सम्पर्कविहीन भएको उजुरी परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मध्ये रामबहादुर र आशिषलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने अन्य चार जनालाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय