काठमाडौँ,२२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल ले भाषा, साहित्य र संस्कृति राष्ट्रको मौलिक पहिचान र गौरवको आधार भएको बताएका छन्।
युगकवि सिद्धिचरण श्रेष्ठ को ११५औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले साहित्य केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरूक र संवेदनशील बनाउने सशक्त माध्यम भएको उल्लेख गरे।
राष्ट्रपति पौडेलका अनुसार साहित्यले समाजलाई जोड्ने, लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्ने र उज्यालो भविष्यतर्फ मार्गदर्शन गर्ने क्षमता राख्छ। उनले साहित्यले देशप्रेम, सामाजिक न्याय र परिवर्तनका पक्षमा जनचेतना फैलाउन महत्वपूर्ण योगदान दिने बताए।
उनले युगकवि श्रेष्ठको योगदानको स्मरण गर्दै नयाँ पुस्तालाई उनलाई केवल इतिहासका कविका रूपमा होइन, चेतना, साहस, सृजनशीलता र राष्ट्रप्रेमका प्रेरणास्रोतका रूपमा बुझ्न आग्रह गरे। कठिन सामाजिक–राजनीतिक परिस्थितिमा पनि श्रेष्ठले साहित्यमार्फत स्वतन्त्रता, न्याय र मानवताको सन्देश प्रवाह गरेको उनले उल्लेख गरे।
राष्ट्रपति पौडेलले श्रेष्ठको जीवन सङ्घर्षपूर्ण भए पनि साहित्यप्रतिको निष्ठा अटल रहेको बताए। उनका अनुसार ‘मेरो प्यारो ओखलढुङ्गा’ जस्तो कृतिले जन्मभूमिप्रतिको गहिरो माया र राष्ट्रिय भावनालाई नेपाली साहित्यमा अमिट बनाएको छ।
कार्यक्रममा डा. दुबसु क्षेत्री र डा. गार्गी शर्मालाई ‘युगकवि सिद्धिचरण पुरस्कार’ प्रदान गरिएको थियो।




