बीरगन्ज,२६ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् विस्तारसँगै आज दुई नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृह मन्त्रालयमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा महावीर पुनले शपथ लिएका हुन्।
शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्री तथा सांसदहरूको उपस्थिति रहेको थियो।
यसअघि गृहमन्त्री रहेका गुरुङ सम्पत्ति विवादपछि पदबाट राजीनामा दिएका थिए। पछि गठन गरिएको छानबिन समितिले उनलाई क्लिन चिट दिएपछि उनी पुनः गृहमन्त्रीमा फर्किएका हुन्।
त्यस्तै, महावीर पुन यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पनि मन्त्री भइसकेका थिए। पछिल्लो समय राजनीतिक परिवर्तनपछि उनी पुनः मन्त्री पदमा फर्किएका हुन्।
गुरुङ गोरखा–१ बाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका हुन्।




