काठमाडौं,१२ असार । नेपालले बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजना भारतको स्वीकृति नपाउँदा रोकिएको छ। भारतीय पक्षले प्रसारण लाइनको सीमित क्षमता र प्राविधिक जोखिमको कारण देखाउँदै अनुमति दिन सकेको छैन।
हाल नेपालले भारतको प्रसारण प्रणाली प्रयोग गरेर बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिरहेको छ। नेपाल र बंगलादेशबीच गत वर्षको सचिवस्तरीय बैठकमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सैद्धान्तिक सहमति भएको थियो र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने समझदारी पनि भएको थियो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार जुन १५ देखि थप विद्युत् निर्यात गर्ने तयारी भए पनि भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) बाट आवश्यक अनुमति प्राप्त हुन सकेको छैन। भारतीय पक्षले भारत–बंगलादेश अन्तरदेशीय प्रसारण लाइनमा सीमित अतिरिक्त क्षमता मात्रै उपलब्ध रहेको र थप विद्युत् प्रवाह गर्दा प्रणालीमा प्राविधिक जोखिम बढ्न सक्ने जनाएको छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हालको प्रसारण पूर्वाधारबाट थप २० मेगावाट निर्यात गर्न पूर्ण रूपमा असम्भव नभए पनि त्यसका लागि भारतको सहमति र उच्चस्तरीय निर्णय आवश्यक छ। उनका अनुसार यो विषय सचिवस्तरीय संयन्त्रबाट टुंग्याउनुपर्ने संकेत भारतले दिएको छ।
यस विषयमा नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्टेयरिङ समिति (JSC) र संयुक्त कार्य समूह (JWG) को बैठक लामो समयदेखि बस्न नसक्दा निर्णय प्रक्रिया पनि प्रभावित भएको छ। ऊर्जा मन्त्रालयले बैठक आयोजना गर्न कूटनीतिक पहल जारी राखेको जनाएको छ।
नेपाल र बंगलादेश दुवै पक्ष थप विद्युत् व्यापारका पक्षमा देखिए पनि भारतको प्रसारण करिडोर प्रयोग गर्नुपर्ने बाध्यताका कारण भारतीय स्वीकृतिविना योजना अघि बढ्न सकेको छैन। आगामी सचिवस्तरीय बैठकमा यस विषयलाई प्राथमिक एजेन्डाका रूपमा उठाइने तयारी नेपालले गरेको छ।
यद्यपि, केही विश्लेषकहरूले भारतले प्राविधिक कारण देखाए पनि हालै नेपाली चिया निर्यातमा देखिएको अवरोधजस्तै यो निर्णयमा अन्य पक्षसमेत प्रभावकारी हुन सक्ने अनुमान गरेका छन्। तर, यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन।




