spot_img

‘अर्थमन्त्रीले सांसदलाई हेप्ने र धम्की दिने शैलीमा बोले’ : वर्षमान पुन

spot_img
spot_img

काठमाडौं,२९ जेठ । पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूप्रति असम्मानजनक र धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै पुनले आर्थिक विधेयकमा गरिएको कर दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्रीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरे।

उनले अर्थमन्त्रीले सांसदहरूलाई ‘हेप्ने’ र ‘धम्की दिने’ शैलीमा प्रस्तुत भएको आरोप लगाए। अर्थमन्त्रीले विगतका सरकारहरूमा भएका कर हेरफेरका फाइल खोजिरहेको र अघिल्ला सरकारले धेरै प्रकारका परिवर्तन गरेको दाबी गर्दै आफूले सीमित संशोधन मात्र गरेको भन्ने आशय व्यक्त गरेको भन्दै पुनले त्यसलाई अनुपयुक्त टिप्पणीका रूपमा व्याख्या गरे।

“अर्थमन्त्रीको प्रस्तुति सांसदहरूलाई सम्मान गर्नेभन्दा पनि दबाब दिने खालको देखियो, जुन दुःखद विषय हो,” पुनको भनाइ थियो। पुनले यस्तो अभिव्यक्तिले संसदीय समितिको गरिमा र मर्यादामाथि समेत असर पर्ने भन्दै समितिका सभापतिले यस विषयमा रुलिङ गर्नुपर्ने माग गरे।

उनको भनाइपछि सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले उक्त विषयप्रति आफ्नो ध्यानाकर्षण भएको प्रतिक्रिया दिएका थिए। हाल आर्थिक विधेयकमा गरिएको कर दर हेरफेर र त्यससम्बन्धी सूचना चुहावटको विषय संसद् र संसदीय समितिहरूमा बहसको केन्द्र बनेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय