काठमाडौं,१५ असार । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र आत्मनिर्भर बनाउने दिशामा अघि बढ्न सबैलाई आह्वान गरेका छन्।
२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले कृषिमा आधुनिकीकरण र व्यवसायीकरणमार्फत वैदेशिक रोजगारीमा पलायन भइरहेका युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए। त्यसो गर्न सके धान तथा चामलको आयातसमेत उल्लेखनीय रूपमा घटाउन सकिने उनको भनाइ छ।
राष्ट्रपतिले कृषि केवल जीविकोपार्जनको माध्यम नभई सम्मानित र लाभदायी व्यवसायका रूपमा विकास हुनुपर्नेमा जोड दिँदै श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए। यसका लागि सम्बन्धित सरकारी निकायले आवश्यक नीति, योजना र सहयोगलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको आग्रह छ।
असार १५ नेपाली कृषि संस्कृति र परम्परासँग जोडिएको विशेष दिन भएको उल्लेख गर्दै उनले हिलोमा धान रोप्ने परम्परा, दही–चिउरा खाने चलन तथा प्रकृति र माटोसँग नेपाली जीवनको गहिरो सम्बन्धले राष्ट्रिय धान दिवसलाई थप अर्थपूर्ण बनाएको बताए।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ्दै गएको चुनौतीप्रति पनि चिन्ता व्यक्त गर्दै यसको प्रभाव न्यूनीकरण गर्न सरकार, किसान र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताए। जलवायुमैत्री प्रविधिको प्रयोग, उत्पादन वृद्धि र उत्पादकत्व अभिवृद्धि आजको प्रमुख आवश्यकता भएको उनको भनाइ छ।
उनले नेपालको धानखेती अझै पनि वर्षामा निर्भर रहेको उल्लेख गर्दै उत्पादनमा स्थायित्व ल्याउन धान खेतीयोग्य जमिनमा पर्याप्त सिँचाइ सुविधा विस्तार गर्न राज्यले प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।
राष्ट्रपतिले संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै किसानलाई गुणस्तरीय कृषि सामग्री, उचित बजार र उत्पादनको न्यायोचित मूल्य उपलब्ध गराउनु राज्यको दायित्व भएको बताए।
यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस मनाइँदै छ।




