बीरगन्ज,२९ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्सा–बारा औद्योगिक करिडोरमा सञ्चालनमा रहेका उद्योगहरूले सिर्सिया नदीमा फोहोर पानी सोझै मिसाएर प्रदूषण फैलाएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विभिन्न माध्यमबाट प्राप्त गुनासो, उजुरी तथा सञ्चार माध्यममा प्रकाशित समाचारका आधारमा उद्योगहरूले प्रशोधन नगरी फोहोर पानी नदी र खोलामा विसर्जन गरिरहेको उल्लेख गरिएको छ।
प्रचलित औद्योगिक तथा वातावरणीय कानुनअनुसार उद्योग दर्ता, क्षमता विस्तार वा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्दा उत्पादन प्रक्रियाबाट उत्पन्न हुने फोहोर पानी व्यवस्थापनका लागि अनिवार्य रूपमा ‘फोहोर पानी प्रशोधन प्रणाली’ जडान गरी सञ्चालन गर्नुपर्ने व्यवस्था छ। तर उक्त मापदण्डको पालनामा लापरवाही भइरहेको मन्त्रालयको ठहर छ।
मन्त्रालयले स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनअनुसार प्रदूषण न्यूनीकरणका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार मात्र फोहोर पानी विसर्जन गर्न उद्योगहरूलाई निर्देशन दिएको छ।
विज्ञप्तिमा नदी तथा खोला प्रदूषण मानव स्वास्थ्यका लागि गम्भीर चुनौती भएको उल्लेख गर्दै सबै उद्योग प्रतिष्ठानलाई प्रचलित कानुन र मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
साथै, तोकिएका मापदण्ड उल्लङ्घन गरेको पाइएमा उद्योग विभाग तथा सम्बन्धित निकायमार्फत कडाभन्दा कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।




