रौतहट,२९ जेठ । रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका–७ नरकटिया गाउँमा एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन्। घटनालाई लिएर स्थानीयस्तरमा हत्या तथा लुटपाटको आशंका गरिएको छ।
स्थानीय दीपनारायण पटेलकी ७० वर्षीया श्रीमती लखपतिया देवी शुक्रबार बिहान खेतबारी हेर्न गएको अवस्थामा गाउँ नजिकै कुलोछेउको खेतमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।घटनापछि स्थानीयवासीले उनको सुनका गहना लुटपाट गरी घाँटी थिचेर हत्या गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। घटनाले गाउँमा शोक र त्रासको वातावरण सिर्जना गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतकको नाकबाट रगत बगेको देखिएको छ भने शरीरमा अन्य कुनै स्पष्ट चोटपटक भने फेला परेको छैन।
उनले मृतकले लगाएको सुनको नाकको फुली हराएको भन्ने स्थानीयको दाबीबारे पनि अनुसन्धान भइरहेको जानकारी दिए। “शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्नेछ,” उनले बताए।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। हालसम्म मृत्युको कारण लुटपाट, हत्या वा अन्य कुनै कारण हो भन्ने विषयमा यकिन हुन नसकेको प्रहरीले जनाएको छ।




