वीरगन्ज,२९ जेष्ठ । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता अभिवृद्धि कार्यक्रमको संयुक्त अनुगमन सम्पन्न भएको छ।
क्याप्टिभेटिङ्ग इन्टरनेशनल फाउन्डेसनको सहयोग र आसमान नेपालको आयोजनामा सञ्चालन भइरहेको उक्त कार्यक्रमले विद्यालय बाहिर रहेका किशोरीहरूको शिक्षा, सशक्तीकरण र आत्मनिर्भरता प्रवर्द्धनमा केन्द्रित गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
अनुगमनका क्रममा वडा नं. २ र ४ मा सञ्चालन गरिएको द्रुत सिकाइ कार्यक्रममार्फत ९ देखि १८ वर्ष उमेर समूहका ६७ जना किशोरीलाई आठ महिनासम्म अध्ययन गराइएको जानकारी दिइयो। तीमध्ये ५५ जना किशोरी पुनः विद्यालय भर्ना हुन सफल भएका छन्।
विद्यालय फर्किन नसकेका केही किशोरीहरू उमेर तथा व्यक्तिगत रुचिका कारण औपचारिक शिक्षाभन्दा आयआर्जनमुखी गतिविधितर्फ आकर्षित भएको पाइएको छ। उनीहरूको आवश्यकता र रुचिअनुसार व्यवसायिक सीप तथा सहयोग उपलब्ध गराउने पहल भइरहेको कार्यक्रम आयोजकले जनाएको छ।
पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले किशोरीहरूको नियमित विद्यालय उपस्थितिका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनीहरूलाई अझ जिम्मेवार र सचेत बनाउन आवश्यक रहेको बताए।
उनले विकास साझेदार संस्थाहरूको सहयोग सीमित अवधिका लागि मात्र रहने भए पनि कार्यक्रमको दीर्घकालीन प्रभाव कायम राख्न स्थानीय तहले जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
अनुगमन टोलीमा वडा अध्यक्ष वीरेन्द्र प्रसाद थारु र सेख खुर्सेद, स्वास्थ्य शाखाका प्रतिनिधि अमरुदिन मियाँ, पशु सेवा शाखा प्रमुख पुष्पेन्द्र साह, संजय पन्जियार, आसमान नेपालका अध्यक्ष रामप्रवेश यादव, कोषाध्यक्ष रेखा यादव, कार्यक्रम व्यवस्थापक अजय कुमार यादव, कार्यक्रम अधिकृत धर्मेन्द्र चौरसिया तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।
आसमान नेपालले पर्सा जिल्लाको ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा समेत यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाका अनुसार हाल करिब २७९ जना किशोरी तथा उनीहरूका अभिभावकसँग शिक्षा, सीप विकास र जीविकोपार्जनका क्षेत्रमा प्रत्यक्ष काम भइरहेको छ।
कार्यक्रमले विद्यालय बाहिर रहेका किशोरीहरूलाई पुनः शिक्षाको पहुँचमा ल्याउनुका साथै आत्मनिर्भर जीवनतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।




