जनकपुर,१५ असार । आज देशभर राष्ट्रिय धान दिवस उत्साहका साथ मनाइएको छ। परम्पराअनुसार किसानहरूले खेतमा धान रोपेर यस दिवसलाई विशेष रूपमा मनाएका छन्।
यसै अवसरमा उपसभामुख रुबीकुमारी ठाकुर पनि जनकपुरको मुजेलियास्थित आफ्नै खेतमा पुगेर धान रोपाइँमा सहभागी भएकी छन्। उनले किसानसँगै खेतमा उत्रिएर धान रोप्दै कृषि पेशाप्रति सम्मान र किसानप्रतिको ऐक्यबद्धता व्यक्त गरिन्।
उपसभामुख ठाकुर राजनीतिमा आउनुअघि आफ्नै खेतबारीमा नियमित रूपमा काम गर्ने गर्थिन्। किसान परिवारमा हुर्किएकी उनी आज पनि आफ्नो कृषि पृष्ठभूमिलाई गर्वका साथ सम्झन्छिन्। उनका बुबाआमा अहिले पनि कृषि पेशामै संलग्न छन्।
राष्ट्रिय धान दिवसले कृषि उत्पादन बढाउने, धान खेतीको महत्व उजागर गर्ने तथा किसानको योगदानप्रति सम्मान व्यक्त गर्ने उद्देश्य बोकेको छ।
यस वर्ष पनि देशका विभिन्न स्थानमा धान रोपाइँसँगै सांस्कृतिक कार्यक्रम र कृषिमुखी गतिविधिहरू आयोजना गरी दिवस मनाइएको छ।




