बुटवल,२९ जेठ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा आज बिहान सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि स्थानीयवासीले विरोध जनाएका छन्।
स्थानीयका अनुसार भारतीय सशस्त्र सीमा बल (SSB (Sashastra Seema Bal)) का करिब ६ जना सुरक्षाकर्मी हतियारसहित नेपाली भूभागतर्फ प्रवेश गरी उखु खेती भइरहेको क्षेत्रमा पुगेका थिए। त्यसपछि किसान र स्थानीय बासिन्दाले उनीहरूको उपस्थितिको कारण सोध्दै आपत्ति जनाएका थिए, जसका कारण केहीबेर विवादको स्थिति बनेको थियो।
विवादपछि ती सुरक्षाकर्मी आफ्नो क्षेत्रमा फर्किएको बताइएको छ। घटनापछि सीमा क्षेत्रमा केही समय तनावपूर्ण अवस्था देखिएको थियो।
नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार भारतीय पक्ष नियमित गस्तीका क्रममा आएको थियो। भारतीय क्षेत्रमा रहेको कल्भर्ट भत्किएपछि उनीहरूले वैकल्पिक बाटोका रूपमा नेपाली किसानको खेतको आलि प्रयोग गर्न खोज्दा विवाद उत्पन्न भएको उनले बताए।
भण्डारीका अनुसार भारतीय सुरक्षाकर्मीलाई आफ्नो बाटो मर्मत गरी मात्रै वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिइएको छ।
यसअघि पनि सुस्तामा तटबन्ध निर्माणलाई लिएर भारतीय पक्षसँग विवाद भएको विषय सार्वजनिक भएको थियो। तर, प्रशासनका अनुसार आजको घटना र अघिल्लो तटबन्ध विवाद फरक स्थानमा भएका अलग–अलग घटना हुन्।




