काठमाडौं,२९ जेठ । प्रतिनिधि सभामा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (खुश्बु ओली) की सांसद खुश्बु ओलीले परराष्ट्रमन्त्रीले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादको विषय औपचारिक रूपमा नउठाएको आरोप लगाएकी छन्।
सांसद ओलीले परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमणपछि जारी गरिएको प्रेस नोटमा सीमा विवादसम्बन्धी विषय उल्लेख नभएको भन्दै आलोचना गरिन्। उनका अनुसार पछिल्ला ७–८ वर्षमा पहिलो पटक आधिकारिक प्रेस नोटमा सीमा विषय नसमेटिनु गम्भीर कुरा हो।
उनले मन्त्री खनालले दिल्लीमा केही विषय उठाएको भनिए पनि त्यसको स्पष्ट विवरण सार्वजनिक नभएको र काठमाडौं फर्किएपछि जारी गरिएको प्रेस नोटमा पनि सीमा विवादबारे कुनै उल्लेख नभएको दाबी गरिन्।
सांसद ओलीले संसदमा दिएको मन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाउँदै सीमा व्यवस्थापन र सीमा विवाद फरक विषय भएको बताइन्। उनले सरकारलाई सीमा सम्बन्धी विषयलाई स्पष्ट रूपमा कूटनीतिक एजेन्डामा राख्नुपर्ने आवश्यकता रहेको पनि जोड दिइन्। साथै आगामी चीन भ्रमणमा पनि सीमा मुद्दा उठाउन सरकारलाई आग्रह गरेकी छन्।




