काठमाडौँ,१५ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादनमा आत्मनिर्भर बन्न खेतीको क्षेत्रफल विस्तार, आधुनिक प्रविधिको प्रयोग, अनुसन्धान तथा सरोकारवालाबीचको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।
२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले धान नेपालीको धर्म, संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएको महत्त्वपूर्ण बाली भएको उल्लेख गर्नुभयो।
उहाँले स्थानीय तथा जङ्गली धानका जातको संरक्षण, संवर्धन र उपयोगले जैविक विविधता संरक्षण, जलवायु परिवर्तनसँग अनुकूलन तथा दीर्घकालीन खाद्य सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
यस वर्षको धान दिवसको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ ले कृषि क्षेत्रका वर्तमान आवश्यकता र चुनौतीलाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै मन्त्री चौधरीले चामलको आयात घटाउन वर्षे तथा चैते धानको खेती विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले उन्नत धानका जातको विकास, प्रविधि हस्तान्तरण, सिँचाइ सुविधा विस्तार, कृषकलाई उत्पादन सामग्रीमा सहज पहुँच तथा उचित मूल्य सुनिश्चित गर्न सरकारले प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। साथै, स्थानीय र जङ्गली धानका जातको पहिचान, सङ्कलन, संरक्षण तथा जलवायुमैत्री नयाँ जात विकासलाई विशेष महत्व दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।




