महोत्तरी,१५ असार । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डअन्तर्गत पर्सा र पिपराबीच निर्माणाधीन कुटमेश्वरी पुल समयमै सम्पन्न नहुँदा वर्षायाम सुरु भएसँगै सवारी आवागमन प्रभावित भएको छ। सामान्य वर्षा हुँदा पनि पुलको डाइभर्सन बग्ने र सडक भासिने समस्याले यात्रु तथा स्थानीय बासिन्दाले दैनिक सास्ती खेपिरहेका छन्।
महोत्तरी गाउँपालिका–१ पर्सास्थित बिगही खोलामाथि निर्माण भइरहेको पुलमा अस्थायी रूपमा बनाइएको माटो र बालुवाको डाइभर्सन सामान्य पानीको बहावमै बग्ने गरेको छ। पुलसँग जोडिएको माटोको सडकमा ठूला सवारी साधन गुड्दा बाटो भासिने भएकाले घण्टौँसम्म सवारी आवागमन अवरुद्ध हुने गरेको स्थानीयको भनाइ छ।
जलेश्वरस्थित प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक डा. रोशनकुमार साहले आफू दैनिक जनकपुरबाट अस्पताल आउने–जाने गरे पनि सामान्य वर्षापछि लामो जामको समस्या झेल्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँका अनुसार सोमबार बस सडकमा फसेपछि करिब १० किलोमिटर लामो वैकल्पिक मार्ग प्रयोग गरेर अस्पताल पुग्नुपरेको थियो।
भारतको भिठामोड नाकादेखि जनकपुर जोड्ने मुख्य सडकका रूपमा रहेको यो मार्गमा पुल निर्माण ढिलाइ हुँदा हरेक वर्ष वर्षायाममा आवागमन प्रभावित हुँदै आएको छ।
२०७९ फागुन २ गते करिब २० करोड रुपैयाँ लागतमा ४० मिटर लामो र ११ मिटर चौडा कुटमेश्वरी पुल निर्माणको जिम्मा रामजानकी निर्माण सेवाले पाएको थियो। तोकिएको समयमै काम सम्पन्न नभएपछि निर्माण कम्पनीलाई पटक–पटक म्याद थप गरिएको छ। हाल थपिएको म्याद सकिन केही दिन मात्र बाँकी रहँदा पनि पुलको भौतिक प्रगति ५० प्रतिशतभन्दा कम रहेको छ।
स्थानीय युवा पङ्कज पासवानले गर्मीयाममा धुलो र वर्षायाममा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने अवस्था अब सामान्यजस्तै बनेको टिप्पणी गर्नुभयो। उहाँले सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायले समन्वय गरी निर्माण कार्य छिटो सम्पन्न गर्न र वर्षायाममा सहज आवागमन सुनिश्चित गर्न तत्काल पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।




