सर्लाही,२९ जेठ । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय सुनाइएका एक फरार अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बरहथवा नगरपालिका–६ निवासी ३८ वर्षीय अरबिन्द साह रहेका छन्। सर्लाही जिल्ला अदालतले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय सुनाएपछि उनी फरार रहेका थिए।
प्रहरीका अनुसार साहलाई लुकिछिपी बसिरहेको अवस्थामा गाउँबाटै पक्राउ गरिएको हो। सर्लाही प्रहरीका प्रवक्ता तथा डिएसपी वेदप्रसाद गौतमले साह केही वर्षअघि भएको हत्या घटनामा संलग्न रहेको जानकारी दिए।
अदालतको आदेशअनुसार उनलाई कैद सजाय भुक्तानका लागि कारागार कार्यालय मलङ्गवा पठाइसकिएको प्रहरीले जनाएको छ।
यसै क्रममा प्रहरीले अन्य दुई जनालाई पनि पक्राउ गरेको छ। सार्वजनिक अपराध मुद्दामा दुई हजार रुपैयाँ जरिवाना तोकिएका ईश्वरपुर नगरपालिका–४ निवासी मनोज गोले तथा चालु मुद्दामा फरार हरिपुर्वा नगरपालिका–५ की शैली देवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।




