काठमाडाैं,२९ जेठ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरानमाथि आज राति ठूलो हमला हुने दाबी गरेका छन्।
सामाजिक सञ्जाल ‘ट्रूथ’ मार्फत उनले अमेरिका इरानविरुद्ध सशक्त सैन्य कारबाहीको तयारीमा रहेको उल्लेख गरेका हुन्। ट्रम्पले इरानको नौसेना, वायुसेना, राडार तथा वायु रक्षा प्रणाली कमजोर बनाइसकिएको दाबी गर्दै बाँकी आक्रामक क्षमतामाथि निर्णायक प्रहार हुने बताएका छन्।
उनले निकट भविष्यमै इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु तथा अन्य ऊर्जा पूर्वाधारमा नियन्त्रण कायम गर्ने र इरानको तेल तथा ग्यास बजारमा अमेरिकाको प्रभाव बढ्ने दाबीसमेत गरेका छन्।
यसैबीच ट्रम्पको उक्त अभिव्यक्तिपछि इरानले अमेरिका, युरोप र मध्यपूर्वका २२ देशलाई चेतावनी दिएको छ। इरानले आफ्ना नागरिक र भूभागलाई लक्षित नगर्न आग्रह गर्दै कुनै पनि आक्रमणको कडा प्रतिकार गरिने संकेत गरेको छ।
यस घटनाक्रमले मध्यपूर्वमा तनाव थप चर्किने संकेत देखिएको विश्लेषण गरिएको छ।




