spot_img

विद्यार्थी आन्दोलनको दबाबपछि सर्बियाली राष्ट्रपतिले राजीनामा दिने घोषणा

spot_img
spot_img

काठमाडौं,१५ असार । सर्बियामा डेढ वर्षदेखि जारी विद्यार्थी नेतृत्वको सरकारविरोधी आन्दोलनको बढ्दो दबाबपछि राष्ट्रपति आलेक्सान्दार भुचिचले आगामी केही हप्ताभित्र पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले राजीनामापछि देशलाई मध्यावधि राष्ट्रपतीय तथा संसदीय निर्वाचनतर्फ लैजाने बताएका छन्।

राजधानी बेलग्रेडमा आयोजित सरकारी समर्थकहरूको एक विशाल सभालाई सम्बोधन गर्दै राष्ट्रपति भुचिचले आफू अब केही हप्ता मात्र राष्ट्रपति पदमा रहने जानकारी दिएका हुन्। लामो समयदेखि निर्वाचन गराउन अस्वीकार गर्दै आएका भुचिच आन्दोलन चर्किंदै गएपछि आफ्नो अडानबाट पछि हटेका हुन्।

सन् २०२४ को नोभेम्बरमा उत्तरी सहर नोभी सादस्थित रेलवे स्टेसनको क्यानोपी भत्किँदा १६ जनाको मृत्यु भएपछि सर्बियाभर सरकारविरुद्ध प्रदर्शन सुरु भएको थियो। आन्दोलनकारी विद्यार्थी, विपक्षी दल र नागरिक समाजले उक्त दुर्घटनालाई सरकारी लापरबाही, कमजोर निर्माण व्यवस्थापन र संस्थागत भ्रष्टाचारको परिणाम भन्दै निरन्तर आन्दोलन गर्दै आएका छन्।

यसअघि प्रदर्शनकारीलाई ‘विदेशी एजेन्ट’को आरोप लगाउँदै आएका भुचिचले आफ्नो कार्यकाल सन् २०२७ सम्म कायम रहने दाबी गरेका थिए। तर आन्दोलनको निरन्तर दबाबपछि उनले अन्ततः पद छाड्ने घोषणा गरेका हुन्।

सर्बियाको संविधानअनुसार दोस्रो कार्यकाल पूरा गर्न लागेका भुचिच पुनः राष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन्। यद्यपि, राजनीतिक विश्लेषकहरूले उनको राजीनामालाई राजनीतिबाट बाहिरिने निर्णयभन्दा पनि सत्ता कायम राख्ने नयाँ रणनीतिको रूपमा हेरेका छन्। उनी आफ्नो निकट सहयोगीलाई राष्ट्रपतिमा अघि सार्दै संसदीय निर्वाचनपछि पुनः प्रधानमन्त्रीका रूपमा सत्तामा फर्कने तयारीमा रहेको अनुमान गरिएको छ।

यसबीच, राष्ट्रपति भुचिचको घोषणापछि पनि आन्दोलन रोकिएको छैन। बेलग्रेडबाट करिब १७० किलोमिटर दक्षिणमा रहेको क्रालेभोमा भेला भएका हजारौँ प्रदर्शनकारीले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। आन्दोलनका समर्थकहरूले राष्ट्रपति पदबाट राजीनामा मात्रै पर्याप्त नभई सत्ता सञ्चालनको शैलीमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय