काठमाडौं,२९ जेठ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। बस्नेतले बालेन शाहले राष्ट्रघाती अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यस्तो नेतृत्वलाई प्रधानमन्त्रीका रूपमा स्वीकार्न बाध्य भएको टिप्पणी गरे।
उनले अबको आन्दोलन अघिल्लो भदौ २३ र २४ गते भएको आन्दोलनभन्दा अझ सशक्त हुने दाबी गर्दै एमालेको अगुवाइमा सरकार ढाल्ने गरी आन्दोलन गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार यस्तो आन्दोलनले सरकारलाई छ महिनाभित्रै टिक्न नदिने लक्ष्य लिइनेछ।
बस्नेतले पार्टीभित्र एकता सुदृढ गर्नुपर्नेमा समेत जोड दिँदै संगठनलाई अझ बलियो बनाउँदै लैजान आग्रह गरे।




